चालू आर्थिक वर्षको पाँच महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारत निर्यात

चालू आर्थिक वर्षको पाँच महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारत निर्यात

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०८१÷८२को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । 
नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन, भदौ असोज, कात्तिक र मङ्सिरमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ७ रुपैयाँ ३९ पैसा छ । 


प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसैले प्राधिकरणले विद्युत् बिक्री गरी ८ अर्ब १५ करोड भारु आम्दानी गरेको छ । 
साउनमा सबैभन्दा बढी ४ अर्ब १५ करोडको विद्युत् निर्यात भएको छ भने मङ्सिरमा सबैभन्दा कम २८ करोड १४ लाख रुपैयाँको मात्र निर्यात भएको छ । भदौमा ३ अर्ब ६८ करोड,असोजमा ३ अर्ब ७ करोड र कात्तिकमा १ अर्ब ८७ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको हो । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोज महिनामा आएको बाढीपहिरोका कारण मुख्य रुपमा ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रमा क्षति पुगी विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको बताउनुभयो । माथिल्लो तामाकोशी बन्द भएका कारण त्यसपछिका महिनाहरुमा विद्युत् निर्यात घटेको र शुख्खायाम सुरु भएसँगै जलविद्युत आयोजनाहरुको उत्पादन घटेकाले पोहोरभन्दा यस वर्ष चाँडै आयात गर्नु परेको कार्यकारी निर्देशक घिसिङले उल्लेख गर्नुभयो । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार