काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो खेलमा जनकपुर बोल्ट्स बिजयी भएको छ ।
काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्सलाई ८ विकेटले पराजित गरेको हो । विराटनगरले दिएको १ सय २८ रनको लक्ष्य जनकपुरले १५ दशमलव ३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
जनकपुरका लागि लाहिरु मिलन्थाले सर्वाधिक ७५ रन बनाए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर १९ ओभर खेल्दा १ सय २७ रनमा समेटिएको थियो । विराटनगरका ओपनर गप्टिलले ५५ रन बनाएका थिए । उपनिर्वाचनका कारण आइतबार भने लिगका कुनै खेल नहुने क्यानले जनाएको छ ।
एनपीएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट, चितवन राइनोज, काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स सहभागी छन् ।
एनपिएलको विजेता टोलीले एक करोड ११ लाख रुपैयाँ पाउने छन् । यस्तै, एनपिएलमा दोस्रो हुने टोलीले ५० लाख रुपैयाँ पाउने भएका छन् । तेस्रोलाई ३० लाख र चौथो हुनेलाई २० लाख रुपैयाँ दिने क्यानले जनाएको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?