बिआरआई सबैको सहमतिमै अघि बढ्छ–परराष्ट्रमन्त्री डा राणा

बिआरआई सबैको सहमतिमै अघि बढ्छ–परराष्ट्रमन्त्री डा राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले चिनियाँ परियोजना, बेल्ट एण्ड रोड इनिसिएटिभ ९बिआरआई० को कार्यान्वयन योजना दुवै देशको सहमतिमै अघि बढ्ने बताउनुभएको छ । 

चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा भएको चीनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित प्रेस मिटमा उहाँले सो जानकारी दिनुभएको हो । 

उहाँले भन्नुभयो “बिआरआई परियोजनाको फ्रेमवर्कमा नेपालले सन् २०१७ मा नै हस्ताक्षर गरिसकेको छ र अहिले यसको कार्यान्वयनको योजनाबारे कुराकानी भइरहेको छ । यो नेपाल र चीनबीचको सहमति तथा समझदारीका साथै नेपालमा पनि सबैको साझा सहमतिकै आधारमा हुनेछ ।” 

एक प्रश्नको जवाफमा मन्त्री डा राणाले अहिले नेपाल ऋण लिन सक्ने अवस्थामा नरहेकाले  चीन सरकारसँग पनि यसै विषयमा कुराकानी भएको स्पष्ट गर्नुभयो । 

उहाँले भन्नुभयो “यो परियोजना अनुदानमा गर्ने भन्ने विषय नेपाली काँग्रेसले औपचारिक निर्णय नै गरिसकेको छ र यो जानकारी वर्तमान सत्ता साझेदार दल नेकपा एमालेलाई पनि छ । त्यसैले अनुदानमा नै यो परियोजनालाई अघि बढाउने विषयमा हामीले छलफलहरु गरिरहेका छौँ ।”

मन्त्री डा राणाले नेपाल र चीनबीच सदियौँदेखि घनिष्ठ एवं मित्रवत सम्बन्ध रही आएको र यो ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाई जनस्तरमा विस्तार गर्न दुई देशबीच समय समयमा हुने उच्चस्तरीय भ्रमणहरुको आदानप्रदानले महत्वपूर्ण योगदान पुर्याउँदै आएका चर्चा गर्दै आफ्नो यो भ्रमण पनि त्यसैको निरन्तरता हो भन्नुभयो ।
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार