काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक तथ्यांक अनुसार विदेशी मुद्रा सञ्चिति २० खर्ब नाघेको छ । भने यो १३ महिनाको आयात धान्न पुग्ने छ । यसैगरी गत आर्थिक बर्षमा आयात १ दशमलव २ प्रतिशत र निर्यात ३ प्रतिशतले घटेको छ ।
एक वर्षको अवधिमा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । उक्त अवधिमा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
गत आर्थिक वर्षमा शोधनान्तर बचत पनि ५ खर्ब नाघेको छ ।त्यस्तै वार्षिक औसत मुद्रास्फीति ५ दशमलव ४४ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ७ दशमलव ७४ प्रतिशत रहेको थियो ।
२०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप ६४ खर्ब ५२ अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा ५० खर्ब ७४ अर्ब पुगेको छ भने विस्तृत मुद्राप्रदाय १३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५ दशमलव ८ प्रतिशतले बढेको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?