काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्डले एमालेमाथि अविश्वास गरेका कारण अहिलेको परिस्थीति आएको दावी गर्नुभएको छ ।
आइतबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै भट्टराईले बर्तमान सरकारलाई सहज रुपमा अघि बढाउन एमालेले सकारात्मक भूमिका खेलेपनि एमालेलाई धोका दिने काम भइरहेको सूचना प्राप्त भएपछि नयाँ समिकरणको निर्णय भएको बताउनुभएको हो ।
प्रधानमन्त्रीले एमालेसंग छलफल नगरि कांग्रेससंग राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गरेको र त्यसका कारण सरकार पटक पटक परिवर्तन हुने देखिएकाले एमालेले कांग्रेससंग गम्भीर भएर छलफल गरेको उहाले बताउनुभयो । भट्टराईले अहिलेको अवस्थामा माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने भएकाले कांग्रेसको प्रस्ताव अनुसार नयाँ समिकरण बनाइएको जिकिर गर्नुभयो ।
उहाले मुलुकलाई सुशासनतर्फ अघि बढाउन, आर्थिक बिकासको बाटोतर्फ मुलुकलाई अघि बढाउन र संविधानको सफल कार्यान्वयनका लागि एमाले गम्भीर निर्णय लिएको भन्दै सदनमा आक्रोश पोखेर अव केहि नहुने तर्क गर्नुभयो । एमालेले समर्थन फिर्ता लिएर प्रधानमन्त्री घोर अल्पमतमा परेको भन्दै मार्गप्रसस्त गर्न उहाले सुझाव दिनुभयो ।
उहाले विश्वासको मत दिनका लागि २८ गतेसम्मको समय लिनुपर्ने कुनै कारण नरहेको बताउनुभयो । उहाले दुई पार्टीको निर्णयलाई सम्मान गर्दै सदनबाटै राजीनामाको घोषणा गर्नु प्रधानमन्त्रीका लागि उचित हुने उल्लेख गर्नुभयो ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?