समय लाग्छ, दासढुङ्गा हत्याकाण्डको पनि सत्यतथ्य बाहिर आउँछ – केपी शर्मा ओली

समय लाग्छ, दासढुङ्गा हत्याकाण्डको पनि सत्यतथ्य बाहिर आउँछ – केपी शर्मा ओली

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिको केन्द्रमा रहने राजनीतिज्ञ हुनुहुन्छ । विचारमा स्पष्ट तथा प्रष्ट वक्ताका रुपमा लिइने ओली नेपालको वर्तमान समसामयिक राजनीतिका एक शीर्ष नेता पनि हुनुहुन्छ । शुक्रबार परेको जननेता स्वर्गीय मदनकुमार भण्डारीको ७३औँ जन्मजयन्तीको अवसर पारेर भण्डारीको व्यक्तित्व, उहाँद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज)को सामयिकतालगायतका विषयमा केन्द्रित रही अध्यक्ष ओलीसँग राससका प्रमुख समाचारदाता एकराज पाठक र वरिष्ठ समाचारदाता प्रकाश सिलवालले गरेको कुराकानीको सम्पादित अंशः 

जननेता स्व. मदनकुमार भण्डारीको असाधारण व्यक्तित्वबारे यहाँले पनि विभिन्न सन्दर्भमा चर्चा गर्दै आउनुभएको छ । यहाँले मदन भण्डारीलाई आजका दिनमा कसरी सम्झनुहुन्छ ?

म उहाँलाई एक असाधारण व्यक्तिका रुपमा स्मरण गर्ने गर्दछु । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमार्फत हाम्रो समाज र देशलाई अगाडि बढाउन असाधारण योगदान दिनुभएको छ । वैचारिकरुपमा सुस्पष्ट र देशको समृद्धिको बाटो देखाउने अगुवाका रुपमा म उहाँलाई लिन्छु । मलाई लाग्छ, मदन भण्डारी केबल पदको पगरीले नभई विचारले र कामले आफ्नो परिचयले बनाउनसक्ने क्षमता भएको एक नेता हुनुहुन्थ्यो । उहाँको प्रतिभा बहुआयामिक थियो । राजनीतिज्ञ, चिन्तक, साहित्यकार, कवि, लेखकलगायत क्षमता र प्रतिभाको सङ्गम हुनुहुन्थ्यो मदन भण्डारी । मुख्यरुपमा म उहाँलाई एक असल र साँच्चै महान् व्यक्तिका रुपमा सम्झन्छु । तर दुःखद कुरा यो भयो कि उहाँको निधन ४१ वर्षको अल्पायुमै भयो । नेपालमा त्यति कम उमेरमा त्यस प्रकारको सफलता र लोकप्रियता पाउन अरु कसैले सकेको छ भन्ने मलाई लाग्दैन । 

खासगरी मदन भण्डारीसँग यहाँको पहिलो भेट तथा राजनीतिक सहकार्यका मुख्यमुख्य सन्दर्भहरु स्मरण गर्नुपर्दा कसरी गर्नुहुन्छ ?

मेरो उहाँसँगको भेट र त्यसपछि विछोडको अवधिको कुरा गर्दा यो अवधि धेरै लामो रहन सकेन । विसं २०४४ मा म जेलबाट छुटेका बेला उहाँसँग पहिलो भेट भएको थियो । त्यसपछि संसदीय राजनीतिक मोर्चामा मैले मदन भण्डारीसँग भेटघाटको अवसर पाएँ । उहाँ पोखराको कार्यक्रममा निस्कनुअघि म सांसदहरुको टोली लिएर कैलालीको धनगढीमा अध्ययनका लागि जाने तयारीमा थिएँ । त्यस भ्रमणबारे जानकारी गराउन उहाँसँग भेट भएको थियो । 

कहिलेकाहीँ एउटा अवधिको छोटो भेटले पनि जिन्दगीभर ठूलो प्रभाव पार्दोरहेछ । कार्लमार्क्स र फेडरिक एङ्गेल्स्ले करिब २६ वर्षको उमेरमा भोल्तेयर भन्ने दार्शनिकको नामको होटेलमा बसेर वैचारिक छलफल सुरु गर्दै जाँदा १० दिनसम्म छलफल गरेर समाज परिवर्तनका लागि आफूहरुका समान विचार छन् र ती महान् उद्देश्यका छन् भनेर निचोड निकाल्नुभएको थियो । उहाँहरुले तिनै विचारमा रहेर सहकार्य गर्ने निष्कर्षसहित मार्क्सवादी दर्शन, सामाजिक र आर्थिक विकासका चिन्तनहरु अघि सार्नुभयो । 

त्यस्तै जननेता मदन भण्डारी र मेरो पहिलो भेटमा पनि हामी साझा विचारमा रहेर जोडिएका थियौँ । हामीबीच अलमलिएको विचार होइन, सङ्लिएको विचार थियो । उहाँ पनि विचारमा सुस्पष्ट हुनुहुन्थ्यो । त्यही विचारका साथ यात्रामा सँगै अगाडि बढ्ने कुरा भयो । उहाँको दुःखद निधन भयो । म बाँचिरहेको छु र मैले हाम्रा साझा र महान् उद्देश्यलाई अगाडि बढाइरहेको छु । उहाँका स्पष्ट विचारलाई हामीले अघि बढाइरहेका छौँ । 

जनताको बहुदलीय जनवाद त्यस समय मदन भण्डारीले अघि सार्नुभएको समयसापेक्ष र नेपाल सुहाउँदो सिद्धान्त थियो, त्यस समय त्यो सिद्धान्त उहाँले किन प्रतिपादन गर्नुभयो होला ? अहिले पनि नेपालका सबै कम्युनिष्टलाई यो जबजको छाताभित्र गोलबन्द गर्न सकिँदैन ?

मदन भण्डारीले धेरै अध्ययन, शोध, खोज र चिन्तन मनन गरी जनताको बहुदलीय जनवादको प्रतिपादन गर्नुभएको हो । जबजको आवश्यकता र सान्दर्भिकता थियो त्यतिबेला र उहाँले यसको विश्लेषण, संश्लेषण गरेर ल्याउनुभएको थियो । त्यसैले जबजको ध्येय नै जनताको मन जितेर कम्युनिष्ट शक्तिलाई राज्य सञ्चालनको शक्तिमा लाने र जनताका आकाङ्क्षा पूरा गर्ने भन्ने हो । यहाँले भन्नुभए जस्तै यो जबजभित्रै सबै अटाउँछन् । त्यसमा एमाले सुस्पष्ट छ नै । यही विचार मान्ने हो भने यहाँ साना र टुक्रे कम्युनिष्ट नामका कुनै पनि पार्टीको केही आवश्यकता पनि छैन । अहिलेको स्थितिमा एमालेसँग समाजको परिवर्तन र आर्थिक सामाजिक हिसाबले मुलुकलाई कसरी अगाडि बढाउने भन्ने स्पष्ट दृष्टिकोण, योजना र लक्ष्यहरु छन् । मैले यहाँका अरु कसैसँग त्यस्तो सोच पाएको, देखेको पनि छैन । 

आफ्नो कृत्रिम अस्तित्व राख्नका लागि विचार वा पार्टीगत विवादका नाममा फरकफरक झुण्ड बनाइएका छन्, जुन यहाँहरुले पनि देखिनै रहनुभएको छ । ती केबल आफ्ना स्वार्थहरुको तुष्टिका लागि अलगअलग भएका हुन् । स्वच्छ प्रतिस्पर्धा र क्षमता विकासबाट आफ्नो श्रेष्ठता हासिल गरेर देशलाई अगाडि बढाउने सोच बोक्ने सामर्थ्य तिनमा छैन भन्नेमा म स्पष्ट छु । दणिणपन्थी सेवामा खुसी हुने कतिपय कम्युनिष्ट नामका समूहले अधिवेशन, महाधिवेशन गर्दै गरेको र त्यहाँभित्र फलानो तिलानो नेताबीच नेतृत्वमा प्रतिस्पर्धा भएको आदि जस्ता भन्ने गरेको अहिले सुनिएको पनि छ । जबकी ती समूह राष्ट्रिय दल नै हुन सकेका छैनन्, त्यहाँ कोही नेतृत्वमा आएर वा नआएर देशलाई के हुन्छ ? केही फरक पर्दैन ? त्यो त हावामा कुस्ती खेलेको जस्तो मात्रै हो भन्ने मलाई लाग्छ । 

म फेरि पनि भन्छु, जबज देश बनाउने वैचारिक र व्यावहारिक बाटो हो । मदन भण्डारीले कसैप्रति आग्रह राखेर यो विचार ल्याउनुभएको थिएन । त्यसबेला पनि राजनीतिकरुपमा कम्युनिष्ट आन्दोलनका नाममा जे–जस्ता नक्कलवादी सोचहरु पैदा भएका थिए, ती सोचहरुलाई अस्वीकार गर्दै भण्डारीले सिद्धान्त रट्ने र जप्ने चिज होइन, जीवन र परिवर्तनका लागि सिद्धान्तको प्रयोग हुनुपर्छ भन्ने सोच राखेर नै यो सिद्धान्तलाई अघि सार्नुभएको हो । उहाँले जडसूत्रमा कहिल्यै विश्वास गर्नुभएन । सिद्धान्तले राम्रो व्यवहारका लागि काम गर्नुपर्छ भन्ने सोचका साथ तत्कालीन राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थितिलाई ध्यानमा राखेर बहुदलीय प्रणालीलाई स्थापित गर्न जबज ल्याइएको हो । 

खासगरी २०४६ सालको जनआन्दोलनको सफलतापछि नेपाली जनताका आकाङ्क्षाहरु समाज र लोकतान्त्रिक अभ्यासमा दत्तचित्त भएर अगाडि बढ्न सकोस्, शान्ति र न्यायको पालना होस् भन्नका लागि जबज ल्याइएको थियो । अहिले पनि नेपाली समाजमा असमानता र विभेदहरु छन् । अराजकता छँदैछ । जनआन्दोलन जनअधिकारका लागि भएको थियो । मानवअधिकार, शान्ति, सुरक्षा र सम्मानका साथ सुविधायुक्त जीवन बाँच्न पाउने अधिकारका लागि हामीले काम गरिरहेका छौँ । यी कुरा संविधानमा लेखिएकाले मौलिक हक भएका होइनन् कि मौलिक हक भएकाले हामीले मानवअधिकार, शान्ति र सुरक्षाका कुरा संविधानमा मौलिक हकका रुपमा व्यवस्था गरेका हौँ । मुलुकमा सुशासन होस्, पारदर्शीता होस्, मर्यादाको पालना होस् भन्ने हाम्रो चाहना हो । अहिले त्यस्तो हुन सकिरहेको छैन । 

समाजमा अहिले मर्यादा र यसको पालनाको अवस्था दिनप्रतिदित खस्कँदै गएको छ । अहिलेको जस्तो मर्यादाहीन स्थिति मलाई लाग्छ यसअघि नेपालको इतिहासमै थिएन । राज्यको एक अङ्गका रुपमा रहेर, राज्यको मानो खाएर समाजलाई पथभ्रष्ट बनाउने काम अहिले देशमा भइरहेको छ् । संसदमा कस्ता छलफल हुने गरेका छन् ? यो यहाँहरुले, सबै देशवासीले देख्नुभएकै छ । पञ्चायतकालमा त मानवअधिकार नै थिएन र हामीले निष्कर्ष निकालेका थियौँ कि त्यो अन्धकारको समय थियो । त्यही अवस्थाको अन्त्य र नेपाली नागरिकको भविष्य सुनिश्चित गर्नकै लागि तथा त्यस्तो नराम्रा कुराहरु इतिहासमा नरहुन् भनेर नै जबज ल्याइएको हो । र, यो जबजको विचार कुनै ऋषिमुनिले ध्यानागत भएर प्राप्त गरेको विचार होइन । मदन भण्डारीको नेतृत्वमा समाज परिवर्तनका क्रममा सामूहिक प्रयत्नका माध्यमबाट व्यवहारसँग जोडिएको चिन्तनको विश्लेषण र संश्लेषण गरेर मात्र यो ल्याइएको हो । 

त्यसैले कम्युनिष्ट पार्टीहरुको एकताको कुरा यहाँले जुन गर्नुभयो, त्यसोभन्दा पनि जबजको मान्यताभित्र सबै एकत्रीत हुँदा मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा हुन सक्छ । अहिले त कम्युनिष्ट पार्टीका नाममा दक्षिणपन्थी र प्रतिक्रियावादीका मतियारहरु, राष्ट्रियहित विरोधीहरु पनि देखिएका छन् । उनीहरु सकेसम्म एमालेलाई बिगार्न, भत्काउन चाहन्छन् । तर सक्दैनन् । केही नसकेपछि तिनले धारेहात लगाएर एमालेलाई सत्तोसराप मात्र पनि गर्ने गरेका छन् । तिनको उद्देश्य एमाले सिध्याउने मात्रै छ । तिनका चिन्ताको विषय, एमालेको देशभक्तिको आन्दोलन र समृद्धिको चिन्तनलाई हुर्कन दिनु हुँदैन भन्ने नै छ । त्यसकारण त्यस्ता समूहहरु एमालेमा नआएर बाहिरै बसेको राम्रो हो । साँच्चिकै कम्युनिष्ट शक्ति भए एमालेजस्तै जबजभित्र रहिहाल्छ । अरु कुनै पनि नक्कलवादीहरुको चिन्ता लिने कुरा छैन ।  

 

 

मदन–आश्रितको दासढुङ्गा दुर्घटनामा भएको मृत्युलाई एमालेले सुरुदेखि नै हत्या हो भन्दै आएको छ । एमाले पनि पटकपटक सरकारको नेतृत्वमा पुग्यो तर त्यसको अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन सकेन भनेर मानिसहरु प्रश्न गर्ने गर्छन् नि ? 

जब सत्ता र शक्ति बाधक हुन्छ, कुनै कुनै सत्य प्रकट हुनबाट रोकिन्छ । नेपालमा दुई ठूला घटना मदन–आश्रितको हत्या र दरबार हत्याकाण्डका दोषी अझै पत्ता लागेका छैनन् । दरबार हत्याकाण्डमा पनि तत्कालीन युवराज दीपेन्द्रको देवयानी भन्ने युवतीसँग प्रेम थियो र त्यो प्रेम सफल हुन मातापिता अर्थात् तत्कालीन राजा र रानीले दिएका थिएनन्, त्यसकारणले उनले परिवारै सखाप पारे भन्ने खालको कथा घटना भएकै राति विश्वव्यापी बनाइयो । मानौँ कि त्यही प्रेम कहानीका कारण सारा दरबार दीपेन्द्रले नै सखाप पारे । हामीलाई अथवा कुनै नेपाली नागरिकलाई ती पात्रका बारेमा पहिला केही थाहा पनि थिएन । अकस्मात् ती पात्र खडा गरियो र यसैसँग त्यो हत्याकाण्डलाई जोडियो । यसरी जोडियो कि हामीलाई केही थाहा नभएको कुरा एकैपटक विश्वव्यापी बनाइयो । यो स्पष्टै बुझ्न सकिन्छ कि यथार्थलाई छोप्नका लागि शक्तिमा रहेकाहरुले त्यो कथा बाहिर ल्याएका थिए । यसको रहस्य पनि खुल्छ कुनै दिन ।

दासढुङ्गा दुर्घटना पनि त्यस्तै रहस्यकै गर्भमा छ भन्ने लाग्छ । तत्कालीन सरकारले दुर्घटना हो भन्यो, छानबिन आयोगसमेत गठन गर्न मानेन । छानबिनको माग राखी आन्दोलन गर्ने क्रममा कम्तीमा २२ जनाको ज्यान नै गयो । हामीले तत्कालै छानबिन आयोगको माग गर्यौँ । अहिले कस्ताकस्ता कुरामा पनि छानबिन आयोग या समिति गठन गर्ने गरिएको छ, यहाँहरुले पनि देख्नुभएकै छ । तर त्यस्तो घटनामा छानबिनका लागि समिति गठन भएन । दासढुङ्गा घटनामा गाडी नदीमा पुग्छ, नेताहरु डुब्छन् तर चालक सकुशल बाँचेको हुन्छ । पछि त्यही चालक चितवन पुगेर आत्मसमर्पण गरेको हुन्छ । यस प्रसङ्गमा विभिन्न विद्रोहका घटनामा जोडिएका नेपाली कांग्रेसका उमेश गिरीले पनि अहिले उक्त दासढुङ्गा घटनामा सम्बन्धमा अभिव्यक्ति दिएका छन्, त्यसलाई पनि हेर्नुपर्ने र मनन गर्नुपर्ने अवस्था छ । 

हामीले अनेक बाधा र व्यवधानका बीच पार्टीका तर्फबाट मेरो नेतृत्वमा छानबिन समितिको प्रतिवेदन तयार गरेर पार्टीका तत्कालीन महासचिव माधवकुमार नेपाललाई दिएका पनि थियौँ । त्यो प्रतिवेदन उहाँले सार्वजनिक नै गर्नुभएन । पछि मैले नै त्यो प्रतिवेदनको सार सार्वजनिक गरेको थिएँ । पार्टीले त्यसबेला प्रतिवेदन सार्वजनिक गरेन र अहिले त्यो प्रतिवेदन उपलब्ध पनि छैन । 

कतिपय यस्ता घटना–दुर्घटनाका सत्यतथ्य सार्वजनिक हुन समय लाग्छ । सत्यहरुलाई शक्तिले लुकाउँछन् नै । तर त्यो प्रयत्न सधैँ सफल हुँदैन । समयक्रममा सत्य त बाहिर आइहाल्छ नै । समय लाग्छ, दासढुङ्गा हत्याकाण्डको पनि सत्यतथ्य बाहिर आउँछ । मदन–आश्रितको हत्यारा पत्ता लाग्छ । रासस

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार