मोरङ । बिगत केहि दिनदेखि आन्दोलनरत विद्यार्थीको आक्रोशित समूहले विराटनगरमा एउटा सरकारी गाडीमा आगजनी गरेका छन् ।
आइतबार बिहान महेन्द्र मोरङ बहुमुखी क्याम्पस छेउमा विद्यार्थीको समूहले को–१ झ ६४४ नम्बरको कोशी प्रदेश योजना आयोगको स्कारपियो गाडीमा तोडफोड गर्दै आगजनी गरेका हुन् । आगजनीका कारण गाडीको अघिल्लो भागमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । त्यस्तै उनीहरुले बा १ ञ २४१९ नंवरको सार्वजनिक संस्थानको गाडीमा तोडफोड समेत गरेका छन् ।
शुक्रवार मोरङको रंगेली नगरपालिकाका नगर रक्षकलाई कुटपिट गरेको आरोपमा ६ विद्यार्थी पक्राउ परेका थिए । पक्राउ परेको समूहले नगरपालिकाका कार्यवाहक प्रमुख एवं रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि पनि दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका विधार्थी विरुद्ध अभद्र व्यवहार मुद्दा चलाइ पाँच दिन म्याद थप भएको छ । आन्दोलन रत विधार्थीहरुले पक्राउ परेका सबै रिहा हुनुपर्ने माग राखेका छन् ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?