काठमाडौं । एनसेल आजियटा लिमिटेडले नेपालको विद्यमान कानुनी प्रावधानभित्र रहेरै सेयर किनवेच हुने जनाएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाउदै एनसेलले कानूनी प्रक्रिया पालना गरेर सवै काम गर्ने जनाएको हो । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शेयर खरिदबिक्रीसम्बन्धी कागजात सङ्कलनको क्रममा रहेकाले चाँडै जवाफ दिने पत्र एनसेलबाट प्राप्त भएको जानकारी दिनुभयो ।
शेयर खरिदबिक्रीबारे एनसेलसँग जानकारी माग गरिएकामा त्यसको जवाफ प्राप्त भएको उहाले बताउनुभयो ।
एनसेलको शेयर खरिदबिक्रीबारे जानकारी मागसहित प्राधिकरणले मङ्सिर १५ गते पत्राचार गरेको थियो भने मङ्सिर १९ गते त्यसको जवाफ प्राप्त भएको खनालले बताउनुभयो । एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद देखिएमा प्राधिकरणले थप छानबिन गर्ने उहाले बताउनुभयो । त्यस्तै खनालले बिभिन्न दुरसञ्चार सेवा प्रदायकहरुसंग असुलउपर गर्न बाँकी रहेको वक्तौता तीन महिनाभित्र बुझाउन भनिएको जानकारी दिनुभयो ।
समिति बैठकमा सांसदहरुले एनसेल प्रकरणमा व्यवस्थापकलाई नै बोलाएर जानकारी लिनुपर्ने धारणा राखेका छन् । समिति सदस्य डा स्वर्णिम वाग्लेले एनसेलको व्यवस्थापनलाई अर्थसमितिमा बोलाएर जानकारी माग्नुपर्ने बताउनुभयो । एनसेलका नेपाली मूलका साझेदारलाई समितिमा बोलाएर यस विषयमा अर्थसमितिले पत्र काट्नुपर्ने उहाको भनाइ छ ।
त्यस्तै समिति सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले एनसेल खरिदबिक्री प्रकरण निकै गम्भीर रहेको भन्दै गम्भीर छानबिन गरिनुपर्ने धारणा राख्नुभयो । उहाले एनसेलका बिषयमा देखिएका समस्या सदाका लागि समाधान गर्ने दिशातर्फ लाग्नुपर्ने बताउनुभयो ।
त्यस्तै अन्य समिति सदस्यहरुले एनसेलको सेयरकारोबारबारे राज्यका निकायलाई जानकारी नहुनु लज्जास्पद भएको भन्दै यस बिषयमा राज्यका निकायले गम्भीर भएर अनुसन्धान थाल्नुपर्ने सुझाव दिएका थिए ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?