मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा आफुहरुले नेकपा एमालेलाई सरकारबाट नबाहिरिन आग्रह गरेको बताउनुभएको छ ।
शुक्रवार विराटनगर बिमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै नेता कोइरालाले अहिले पनि कोशी प्रदेशमा एमालेलाई सरकारमा ल्याउने प्रयास भईरहेको बताउदै बजेट आएपछि सरकारले पूर्णता पाउने समेत बताउनुभयो ।
उहाले अव पनि सहमतिको सरकार बनाउने प्रयास जारी रहेको धारणा राख्नुभयो । नेता कोइरालाले जनतालाई आशा देखाउने गरी सरकारले काम गर्न नसकेको बताउदै चिन्तित हुनुपर्ने अवस्था भने नआएको जिकिर गर्नुभयो । उहाले गणतन्त्र खराब व्यवस्था नभएपनि राजनैतिक दलका नेताहरुको कारण बद्नाम भएको र जनतामा निराशा छाएको धारणा राख्नुभयो ।
नेता कोइरालाले मिडियाले सरकारको विरोध गर्ने कार्यलाई सल्लाहका रुपमा लिएर सच्चिदै जानुपर्ने र सरकार प्रमुखबाट बेला बेलामा भईरहेको अभिव्यक्तिले पनि अराजकता निम्तिएको बताउनुभयो । नेता कोइरालाले अन्य देशहरुको उदाहरण दिदै सामाजिक संजालहरुलाई नियमन गर्नुपर्ने बेला सरकारले टिकटक माथि प्रतिबन्ध लगाउनु ठूलो गल्ती भएको बताउनुभयो ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?