भक्तपुरमा (गन्हुँपुन्ही) जनैपूर्णिमा मनाइयो

भक्तपुरमा (गन्हुँपुन्ही) जनैपूर्णिमा मनाइयो

दुर्लभ कुमार थापा मगर भक्तपुर । भक्तपुरमा बुधबार (गन्हुँपुन्ही) जनैपूर्णिमा मनाइएको छ । 
यो वर्ष गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेपछि यहाँ अघिल्लो दिन नै जनैपूर्णिमा मनाइएको हो । गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेकाले अन्योल उत्पन्न भएको भन्दै भक्तपुर नगरपालिकाले तलेजुका पुजारीहरूसँग छलफल गरेपछि बुधबार नै जनैपूर्णिमा मनाएको हो । नेवार समुदायले यस दिनलाई क्वाटी पुन्ही पनि भन्ने गर्दछन् । नेवार समुदायमा गुन्हुँपुन्ही र गाईजात्राका छुट्टाछुट्टै धार्मिक विधिअनुसार कार्य गर्नुपर्दछ । 

गुन्हुँपुन्हीमा क्वाटी खानेमात्र नभई धानबारी, कुवा, इनार, धारालगायत खोलामा गएर भ्यागुतालाई पुज्ने र खाना खुवाउने परम्परा छ ।  क्वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भटमास, मकै, बकुल्लालगायत नौ थरि गेडागुडीको मिश्रणबाट तयार गरिन्छ । रोपाइँ र धानबाली गोडमेलको बेला तथा वर्षात्को मौसम भएकाले तातो पोषणयुक्त आहारले शरीरलाई ताजगी बनाउने भएकाले पनि नेवार समुदायमा आहार विज्ञानअनुसार जनैपूर्णिमामा क्वाँटी खाने प्रचलन रहेको संस्कृतिविद्हरुको भनाइ छ ।  जनैपूर्णिमाको अवसरमा भक्तपुरका विभिन्न कुण्डमा मेला लागेको छ ।

भक्तपुरको औद्योगिक क्षेत्रभित्र रहेको गोसाइँकुण्डकै प्रतीक मानिने प्राचीन धल्चा पुखुः (कालदह)मा बिहानैदेखि स्नान गर्ने भक्तजनको घुइँचो लागेको थियो । कालदहमा स्नानपछि भक्तजन जनै फेर्ने र रक्षा बन्धनको प्रतीक हातमा डोरो बाँध्ने गर्दछन् । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार