काठमाडौं । अर्थ मन्त्री डा. प्रकाश शरण महतले नेपालमा रहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरुसंग आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटका विषयमा छलफल गर्नुभएको छ । छलफलमा विश्व बैंक, एशियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय वित्त निगम जस्ता बहुपक्षिय विकास साझेदार, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग, जापान, कोरिया, स्विजरल्याण्ड, नर्वे, फिनल्याण्ड, युरोपियन युनियन, जर्मनी लगायतका द्वपक्षीय विकास साझेदार संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
छलफलका क्रममा अर्थ मन्त्री डा. महतले नेपाल सरकारका आगामी दिनका प्राथमिकता, आगामी बजेटले लिने मार्ग दर्शन, सिद्धान्तका विषयमा धारणा राख्नुभयो । उहाँले नेपाल सरकारले उपलब्ध साधन र स्रोतको उच्चतम सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल सरकारको ऋण बढ्दोक्रममा रहेको सन्दर्भमा आगामी दिनमा सावा ब्याज तिर्न सक्ने खालका उत्पादनशील क्षेत्रमा लगानी गर्ने प्राथमिकता रहेको जानकारी समेत उहाँले गराउनुभयो । साथै उहाँले आगामी दिनमा सिर्जना हुने दायित्वका विषयमा नेपाल सरकार अत्यन्तै सजग रहेको समेत बताउनुभयो ।
डा. महतले वैदेशिक ऋण संगसंगै उल्लेख्यरुपमा अनुदान उपलब्ध गराउन र जलवायु परिवर्तनको कारक नेपाल नभएको हुँदा यस क्षेत्रमा आउने सहायता पनि अनुदानकैरुपमा परिचालन गर्न आग्रह गर्नुभयो । छलफलकाक्रममा विकास साझेदारहरुबाट प्राप्त राम्रा सुझाव सल्लाहलाई धन्यवाद दिदै डा. महतले आगामी दिनमा सहकार्य गर्दै जाने उल्लेख गर्नुभयो
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?