अञ्जनी कुमार अधिकारी, उदयपुर । उदयपुरका राजनैतिक दलहरुले मतदाता सूचीमा दोहोरो, मृत्यु भएका तथा बसाईसरी गएकाहरुको नाम हटाउने कार्यलाई नियमित बनाउन माग गरेका छन । जिल्ला निर्वाचन कार्यालय उदयपुरले मतदाता नामावली अध्यावधिक दावी विरोध विषयक अन्तरक्रिया कार्यक्रममा उदयपुरका प्रमुख राजनैतिक दलले उक्त माग गरेका हुन । यसअघि निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा गरेपछि मात्र दावी विरोध र मतदाता नामावली अध्यावधिक कार्यक्रम संचालन गर्दै आएको थियो ।
निर्वाचन आयोगले फागुन २२ गते देखि चैत १ गते सम्म मतदाता नामावलीको समेत अध्यावधिक गर्ने कार्यक्रमको जानकारी दिन उदयपुरमा सरोकारवाला सँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
जिल्ला प्रशासन कार्यालयमा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाएपछि फोटो सहितको नामावली संकलन गर्ने कार्य केही महिना देखि स्थगित भएकोमा उक्त कार्यलाई सुचारु गर्नु पर्ने नेकपा एमालेका अध्यक्ष प्रमेश्वर घिमिरेले बताउनु भयो ।
राजनैतिक दलहरुले वडा कार्यालयले मृत्यु तथा बसाईसरी गएकाहरुको विवरण उपलब्ध गराउन वेवास्था गर्ने गरेकाले पालिकाहरुलाई निर्वाचन आयोगको कामलाई प्राथामिकता दिन आग्रह गर्नु पर्ने सुझाव आएको जिल्ला निर्वाचन अधिकारी खेमराज कोईरालाले जानकारी दिनु भयो ।
जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार स्थानीय तहको निर्वाचन पछि हजार मतदाता थपिएका छन । प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा २ लाख २८ हजार ९ सय ४६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?