अन्जनी कुमार अधिकारी उदयपुर । सदरमुकाम गाईघाटस्थित ‘तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड’ को कार्यालय मंगलबार बिहानैदेखि बचतकर्ताहरूले घेराउ गरेका छन् ।
सहकारीमा जम्मा गरेको निक्षेप रकम फिर्ता मागे पनि नदिई बसेका सञ्चालकले एक्कासि कारोबार बन्द भएको सूचना भित्तामा टाँसेर सम्पर्कविहीन भएपछि बचतकर्ताहरू घेराउमा उत्रिएका हुन् ।
त्रियुगा नगरपालिका ११ गाईघाट बजारको मुख्य लाइनमध्येकै हिमाली टोलस्थित ४ तले भवनमा विगत ३ वर्षयता एउटै व्यक्तिको नेतृत्वमा बहुमुखी सहकारी र ‘गार्डेन मार्ट डिपार्टमेन्ट’ सञ्चालन हुँदै आएको छ । तर, १५ दिन कारोबार नहुने भन्ने ब्यहोराको मिति नै उल्लेख नभएको सूचना भित्तामा टाँसेर कार्यालय बन्द रहेको पाएपछि बचतकर्ताहरु कार्यालय घेराउ गर्न आएका हुन् ।
सहकारीमा चार हजार २ सय बचतकर्ता र करिब ५० करोड भन्दा माथि विभिन्न व्यक्तिको शेयर, विभिन्न शीर्षकमा बचत र निक्षेप सहकारीमा जम्मा रहेको प्रहरीले प्रारम्भिक रुपमा जानकारी दिएको छ ।
प्रहरीका अनुसार विराटनगरका स्थायी बासिन्दा केदारनाथ शर्मा नेतृत्वको समूहले सो सहकारी र डिपार्टमेन्ट सञ्चालन गर्दै आएको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?