मोरङका सुन–चाँदी पसलले गैरकानूनी रूपमा बैङ्किङ कारोबार गरेर सर्वसाधरणलाई ठगी गर्ने गरेको पाइएको छ । सर्वसाधारणले बचत गरेको रकम ठगी गरेको उजुरीको आधारमा प्रहरीले सुन्दरहरैंचा नगरपालिका–१० खोर्सानेमा रहेको ‘कमला ज्वेलर्स’ का सञ्चालक ४५ वर्षीय राजु विश्वकर्मालाई पक्राउ गरेको थियो । पक्राउ परेका विश्वकर्मासंग अनुसन्धान गर्दा ५५ जना सर्वसाधारणको १ करोड ८० लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको पाईएको मोरङ प्रहरीका डिएसपी टीका बहादुर कार्कीले बताउनुभयो । सर्वसाधारणलाई १८ देखि २४ प्रतिशतसम्म ब्याज दिने प्रलोभनमा पारी ठगी गरेको पाइएको उहाँको भनाई छ । सर्वसाधारणले बचत गरेको रकम ठगी गरेको उजुरीको आधारमा पक्राउ गरेपछि अहिले पनि उजुरी दिनेको सङ्ख्या बढेको उहाँले जानकारी दिनुभयो ।
यसअघि उर्लाबारी नगरपालिका–६ डिबी मार्गमा रहेको गौतम सुन–चाँदी पसलका सञ्चालक राजेश भनिने गोपाल गौतमले तीन सय जना बढी सर्वसाधारणले ब्याजमा लगाएको १२ करोड रुपैयाँ भन्दा बढी रकम लिएर फरार भएको मोरङ प्रहरीले जनाएको छ । यस्तै बूढीगङ्गा गाउँपालिकामा ‘चन्दा ज्वेलर्स’ नामको सुन पसल सञ्चालकले धितोमा राखिएको सुन–चाँदी र बचत गरेको रकम लिएर भागेको प्रहरीको भनाई छ । सुन व्यवसायीले कानूनविपरीत बचत सङ्कलन तथा ऋण लगानी गर्दै आएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?