काठमाण्डौ । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको छ । अब नाडाले पाँच दिनसम्म कालो व्यानरमा विरोधका नारा प्रदर्शन गर्ने र छैटौं दिनमा मंसिर २२ गते तीन घण्टा ११ देखि २ बजेसम्म शान्तिपूर्ण र्यालीसहित धर्ना कार्यक्रम गर्ने भएको छ ।
काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै नाडाले पहिलो चरणमा मंसिर २२ गतेसम्म शान्तिपूर्ण आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । आफुहरुको मागको सुनुवाई नभएमा आन्दोलनको अर्को चरणमा जाने नाडाले जनाएको छ । गत वैशाखदेखि प्रतिबन्धित कार, जीप भ्यानलगायत १५० सीसी इन्जिन क्षमता माथिका मोटरसाइकलको आयात फुकुवा गर्नुपर्ने, नगद एलसी मार्जिनको व्यवस्था खारेज गर्नुपर्ने, चालू पुँजी कर्जालाई पुनर्विचार गर्नुपर्ने र बैंकिङ ब्याजदरलाई नियन्त्रण गर्नुपर्ने लगाएको माग नाडाले गरेको छ ।
विगत ८ महिनादेखि कार, जीप, भ्यानको आयात रोकेर सरकारले एलसीमा समेत ५० प्रतिशतदेखि शत प्रतिशत सम्म नगद मार्जिनको व्यवस्था गर्दै अटो व्यवसायलाई नै धराशायी बनाउन लागेको भन्दै नाडा आन्दोलित भएको हो ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?