नेपालगन्जमा प्रेसर कुकर बम विष्फोट, दुई घाईते

नेपालगन्जमा प्रेसर कुकर बम विष्फोट, दुई घाईते

सरोकार संवाददाता । बाँकेको नेपालगन्जमा प्रेसर कुकर बम विष्फोट हुँदा दुई जना घाइते भएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० भृकुटीनगर स्थित सृजन मल्लको घरमा बुधबार राती ८ बजे तिर बम विष्फोट भएको हो । बम बिस्फोटबाट सल्यान बागचौर–२ का डिल्ली बहादुर डिसी र कैलालीका धर्म बहादुर सुनार घाइते भएका हुन् । घाईतेहरूको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको बाँकेका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार बम बनाउँदै गरेको अबस्थामा बिस्फोट भएको हो ।

उक्त ठाउँमा कुकर बम बिस्फोट भएको उहाँले पुष्टि गर्नुभएको छ । सो स्थानबाट एउटा प्रेसर कुकर फेला परेको र बमको आशंका गरिएको उहाँले जानकारी दिनुभयो । घटनामा संलग्न अन्य दुई जना फरार रहेको र खोजी कार्य भै रहेको बाँके प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले बम बनाउने सामग्रीसहित एउटा मोटरसाइकल र मोबाइल बरामद गरेको छ । दुवै जना  केहिदिन अघि मात्र सो स्थानमा कोठा भाडामा लिएर बस्दै आएको जनाईएको छ । नेपाली सेनाको बज्रदल गण राँझाबाट आएको टोलीले घटनास्थल नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

उनीहरु नेत्र विक्रम चन्द बिप्लबका कार्यकर्ता भएको प्रहरीले अनुमान गरेको छ । घटना लगत्तै जिल्लाभर सुरक्षा सतर्कता र गस्ती बढाएको छ भने प्रहरीले रातीमा विभिन्न ठाउँमा चेकजाँच समेत बढाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार