अवैध रुपमा भित्रिएको ३० टन भन्दा बढी मैदा बरामद

अवैध रुपमा भित्रिएको ३० टन भन्दा बढी मैदा बरामद

मोरङ र सुनसरीको सीमामा पर्ने केसलिया खोलाको किनारबाट अवैध रुपमा भित्रिँदै गरेको ३० टन भन्दा बढी मैदा भन्सार गस्ति टोलीले बरामद गरेको छ । दुई ट्रक, दुई ट्याक्टर र एक भ्यानमा हालेर उक्त मैदा अवैध रुपमा भित्रिँदै गर्दा गस्ती टोलीले मंगलबार विहान नियन्त्रणमा लिएको हो । अवैध रुपमा भित्रिँदै गरेको करिब ३० लाख मूल्यको ३० टन भन्दा बढी मैदा गस्ति टोलीले नियन्त्रणमा लिएको विराटनगर भन्सारका सूचना अधिकृत रामचन्द्र ढुङ्गनाले बताउनुभयो । त्यस क्रममा चार जनालाई नियन्त्रणमा लिइएको र उनीहरुसंग सोधपुछ कार्य भै रहेको उहाँले जानकारी दिनुभयो ।

भारतले नेपालमा मैदा र गहुँ निकासीमा रोक लगाएपछि जोगवनी नाकाबाट मैदाको तस्करी बढेको हो । भारतबाट गहुँ आयात गर्ने बाटो नखुलाउँदा मुलुकमा सञ्चालन भएका ३७ वटा मैदा मिललाई गहुँको अभाव भएसँगै भारतबाट मैदाको अवैध आयात बढेको भन्सरको बुझाइ छ । गहुँ उपलब्ध नहुँदा उद्योगले ६० प्रतिशत उत्पादन कटौती गरेपछि मैदा र आँटाको मूल्य बढ्दा तस्करी मौलाएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

नेपालमा गत वर्ष भारतबाट ६ अर्ब ९० करोड ७२ लाख ९० हजार मूल्य बराबरको ३ लाख ३५ हजार ९ सय ३२ टन गहुँ आयात भएको भन्सार विभागको तथ्यांक छ । जोगबनी नाकाबाट गत वर्ष २ अर्ब १९ करोड ९० लाख मूल्यको गहुँ आयात भएको थियो । रुस र युक्रेनबीचको युद्धका कारण भारतले गहँुको संकट पर्ने भन्दै वैशाख अन्तिममा निकासीमा रोक लगाएको थियो ।

परिस्थिति अनुकूल भएसँगै निकासीलाई पुनः निरन्तरता दिन भारतले गहुँ आवश्यक पर्ने मुलुक सँग परिमाण माग गरेको थियो । तर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले समयमा आवश्यक पर्ने गहुँको परिमाण माग नगर्दा भारतले गहुँ निकासी गर्ने मुलुकको सूचीबाट नेपाल बाहिरिएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार