महोतरी सहित मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीबीच मनाइने प्रेम र समर्पणको पर्व सामाचखेवा बिर्सजन गरिएको छ । कार्तिक शुक्ल पञ्चमी (छठ पर्वको खरना) का दिन सुरु गरिएको यो पर्व परम्पराअनुसार पूर्णिमा तिथिको रात पारेर हिजो सोमवार राति मिथिलानीले बिर्सजन गरेका हुन् । तिथिको भोगले आज दिनभरि पूर्णिमा रहेपनि रात्रि भोगअनुसार हिजै राति सामा विर्सजन गरिएको हो ।
पर्वमा मिथिलानीले प्रयोग गर्ने सतभैया (सप्तर्षि), हात्ती, बृन्दावन, चुगला, सामा र चकेवाका माटाका आकृति दाजुभाइका हातबाट फुटाउन लगाइ जोतिएको खेत र निर्जन वनमा गाडेर समापन गरिन्छ । यस अवसरमा दाजुभाइले परम्परा धान्दै गच्छेअनुसार दिदीबहिनीलाई वस्त्र र नगद दक्षिणा दिने गर्दछन् । सामाचकेवा पर्वका ११ दिन भएपनि यसपालि तिथिको घटबढले १० दिनमै पर्व सम्पन्न भएको हो ।
द्वापर युगमा श्रीकृष्णकी छोरी सामाले चक्रधर (चकेवा)सँग प्रेम सम्बन्ध राखेको कुरा एउटा कुरौटे (चुगला)ले कृष्णलाई भन्दा छोरी स्वच्छन्द प्रवृत्तिकी भइ भन्ने रिसमा दुवै (सामा र चकेवा) लाई चरा हुने श्राप दिएको पौराणिक प्रसङ्ग छ । कृष्णका श्रापले चरा भएर विचरण गरेकी बहिनी सामा र उनका प्रेमी चकेवाको मुक्तिका लागि कृष्ण पुत्र साम्बले शिवजीको तपस्या गरेर पिता रिझाउन सक्ने वरदान पाइ कृष्णसँग गरेको याचनाबाट उनीहरू श्रापमुक्त भइ पूर्व योनीमा आएर विवाह गर्न पाएका पौराणिक वर्णन रहेको पाइन्छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?