कमला नदीमा भूत मेला

कमला नदीमा भूत मेला

जनकपुर । सिरहा र धनुषाको सिमानामा रहेको कमला नदीमा भूत मेला लागेको छ । आज नदी किनारमा बिहानैदेखि स्नान गर्ने श्रद्धालुको घुइँचो लागेको छ । बर्षौनी धामी–झाँक्रीले भूत र घरको कूलदेवता खेल्दै कमला नदीमा पुगेर स्नान गर्ने चलन सदियौँदेखि रहि आएको र त्यसैले यसलाई भूत मेला भन्ने गरिएको बताइएको छ । आजको दिन नयाँ–नयाँ धामी–झाँक्री कमला स्नान गरेपछि तन्त्र विद्यामा निपुण हुने मान्यता पनि रहेको छ । भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले नदीको शुद्धपानी आ–आफ्नो घर लैजाने गर्छन् । पहेलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामी झाँक्रीहरु हातमा बलेको आगो सहितको माटोको ढकना (भाँडा) र बेतको लाठी घुमाउँदै चर्को स्वरमा चिच्याइ रहन्छन् । उनीहरु आफूमा आएको देउतालाई सिद्ध गर्न गंगास्नान गर्न आएका बताउँछन् ।

धामी झाँक्री मादल, करताल, झाइल र ढोल पिपहीको सुर र तालबीच यिनीहरुको कर्कश स्वरले भय उत्पन्न हुने खालको वातावरण हेर्न सकिन्छ। स्नानको समयमा मूलधामीले लोक भाकामा गीत समेत गाउने गर्छन् । पवित्र नदीमा प्रथम स्नान गर्ने धामी झाँक्रीसँग आशिष थाप्ने श्रद्धालुको सङ्ख्या पनि उल्लेखनीय रहने गरेका छन् । धनुषा सहित सिरहा,  सप्तरी, महोत्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभङ्गा, समस्तीपुर, जयनगर लगायतका स्थानबाट ठूलो सङ्ख्यामा सर्वसाधारण कमला नदीमा स्नान गर्न आउने गर्दछन् । कमलाको उत्तराहिनी , सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाटमा भक्तजनको भीड नै लागेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार