काठमाण्डौ । आज कात्तिक नाचमा दधि लिला हुँदैछ । ललितपुरको पाटनमा चलिरहेको कात्तिक नाचमा अन्तर्गत नवौँ दिन वस्त्रहरण लीला तथा आठौँ दिन नृसिंह अवतार हिरण्यकश्यपु वध: प्रदर्शन गरिएको थियो । कार्तिक नाचमा आज दशौ दिन बेलुका ७ बजे डबलीमा दधि लिला हुने भएको हो । यो नाचले समाजको विकृति र विसङ्गति उजागर गर्नुका साथै सांस्कृतिक तथा ऐतिहासिक महत्त्व पनि झल्काउने गरेको कात्तिक नाच संरक्षण समितिका उपाध्यक्ष प्रताप धर शर्माको भनाइ छ ।
कृष्णलिला र विष्णु पुराणको नृसिंह अवतारको कथामा आधारित यो नाचमा पोङ्गा, खीं, ता: र झ्याली बजाउँदै विष्णुका विभिन्न अवतारहरु प्रस्तुत गरिन्छ । गएको कात्तिक १३ गतेदेखि सुरु भएको कात्तिक नाचमा कृष्णलीला, शास्त्रीय नाच, लोक नाटक, उषाहरण लीला, जलशयन, बराह अवतार, नृसिंह अवतार, वस्त्रहरण, दधिलीला लगायतका नाचहरु देखाउने गरिन्छ । हरेक दिन फरक–फरक कथामा प्रदर्शन गरिने भए पनि सबै प्रहसन र नाच एकआपसमा जोडिएका कात्तिक नाच संरक्षण समितिले जनाएको छ । ३ सय ८२ वर्ष पुरानो कात्तिक नाचलाई सिद्धिनरसिंह मल्लले सञ्चालन गरेको उल्लेख छ । नेपालको इतिहासमा सबैभन्दा लामो नाट्य महोत्सवका रुपमा पनि यसलाई लिइन्छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?