मङ्गलबार खग्रास चन्द्रग्रहण लाग्दै

मङ्गलबार खग्रास चन्द्रग्रहण लाग्दै

काठमाण्डौ । यहि कात्तिक २२ गते मङ्गलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दैछ ।कार्तिक शुक्ल पूर्णिमाका दिन चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर उदय हुने भएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले  खग्रास भनिएको हो ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार बेलुकी ०५:११ बजे देखि सुरु हुने ग्रहण १ घन्टा २३ मिनेट नेपालबाट देखिने छ । बेलुकी ०५:१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिने र बेलुकी ०५:२७ बजे ग्रहणको उन्मिलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो । बेलुकी ०६:३४ बजे ग्रहण सकिन्छ । चन्द्रग्रहणको ९ घन्टा अघिदेखि सूतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको छ । बाल, वृद्ध र बिरामीबाहेकलाई २२ कात्तिक बिहान ०८:११ बजेदेखि भोजन निषेध गरिएको छ । बेलुकी ०६:३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने समितिले जानकारी दिएको छ ।

ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । यसअघि ८ कात्तिक मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो । यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लागेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार