दम्पती आफ्नै घरमा मृत फेला

दम्पती आफ्नै घरमा मृत फेला

बाँकेको कोहलपुरमा एक दम्पती आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् ।कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा मंगलबार बिहान रहस्यमय अवस्थामा दम्पतीको शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार स्थानीय २२ वर्षीय कृष्ण गडरिया र उहाँकी पत्नी २० वर्षीया मञ्जु गडरियाको शव फेला परेको हो ।

प्रहरीका अनुसार सुतिरहेको अवस्थामा फेला परेका दम्पतीमध्ये पति कृष्णको मुखबाट रगत आएको र दायाँ हातमा चोट लागेको छ । रगताम्य भएको कोठामा गडरिया पति पत्निको शव सँगै चुँडिएको डोरी फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले बताउनुभयो ।उहाँका अनुसार मन्जु गडरियाको घाँटीमा डोरीको दाग देखिए पनि डोरी चुँडिएको अवस्थामा फेला परेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा श्रीमतीको हत्या गरेर कृष्णले आफूले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ । तर, हातपात भएसंगै संघर्ष धेरै भएको देखिएकाले दुबैको हत्या भएको हुन सक्ने अनुमान प्रहरीको छ । चोरहरुले दुबैको हत्या गरेर धनमाल चोरेको आशंका स्थानियले गरेपनि घरबाट कुनै सामान चोरी भएको अवस्था नदेखिएको प्रहरीको भनाइ छ । उनीहरूको बिहे भएको एक वर्ष भएको थियो ।

घटना शङ्कास्पद भएकाले अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको र रिपोर्ट आएपछि मात्र हत्या वा आत्महत्या भन्ने खुल्ने प्रहरीले बताएको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार