डोला पर्वको रौनक

डोला पर्वको रौनक

सुदुरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका गाउँमा यति बेला डोला पर्वको रौनक छाएको छ । रानाथारू समुदायका खासगरी युवामा अहिले बेग्लै उत्साह र रौनक बढेको छ ।साउन महिनाको शुरू मै राना समुदायले गाँउमा डोला राखेका हुन् । साउन १५ गते तीज मनाउने राना थारु समुदायले त्यसअघि डोला खेल्दै रमाइलो गर्ने गर्छन् ।

परम्परागत पहिरनमा सजिएका राना थारु महिला आफ्नै मौलिक गीत गाउँदै पिङमा मच्चिएर आनन्द लिने गर्छन् । सामूहिक भेला हुने र सार्वजनिक ठाउँमा दाजुभाइले दिदीबहिनीका लागि पिङ राख्ने चलन रहेको नेपाल रानाथारु समाजका अध्यक्ष कमलसिंह रानाले बताउनुभयो ।

पिङ खेल्ने दिदीबहिनीको उत्साह थप्नका लागि ठूलो आवाजमा दाजुभाइले गीत गाउने चलन रहेको उहाँको भनाई छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच आत्मीयता बढ्ने विश्वास यस समुदायमा छ । दिदीबहिनीले पानीसमेत नपिएर निरहार बसी दाजुभाइको दीर्घायुको कामना गरी तीज मनाउने गर्दछन् । निरहार बसेका दिदीबहिनीले प्रसादका रूपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, बनाउने र घरपरिवार संगै बसेर खाने र आफन्तलाई बाँड्ने चलन छ ।

सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै राना समुदायको बसोबास छ । पछिल्लो समयमा पनि रानाथारु समुदायले  केहि महत्त्वपूर्ण पर्वहरूको संरक्षण र सम्वर्द्धन गरेको पाइन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार